मेरो प्रित

9 04 2013

हिम च्यादर ओढी बस्ने पहाड मेरो शिर

लडीबुडी खेल्ने काख तिनै पाखा भिर

प्रभातको किरणमा न्यान्यो आभाष पाउँदा

लेकबेशी उकाली र देउरालीमा छाउँदा

बनका चरी साथि बने छहरा चाहिँ गीत

प्रकृतिमै बस्यो मेरो अनौठो यो  प्रित !!

 

खहरे र खोला अनि चौतारीमा पनि

उडु उडु लाग्थ्यो कहिले डाँफे चरी बनि

वास्ना छर्दै चाँप गुरास फुल्दा बनैभरि

काफल गेडी ऐसेलु पाक्दा झ्याँग भरि

कहिले बादल कहिले घाम बर्षात अनि झरी

सप्तरंगी इन्द्रेणीमा हास्थ्यो सुनाखरी

यहि एउटा स्वर्ग हो की धर्ति आकाश बीच

प्रकृतिमै बस्यो  मेरो अनौठो यो   प्रित !!

 

छहरामा भुलें कहिले पहरामा डुलें

लहरमा पिङ खेल्दै आफ्नै नाउँ भुलें

न्याउली रुंदा विरहका आशु बग्यो कहिले

छम छम नाचीदिन्थें कोइली गाउँथ्यो जहिले

बनका चरी साथि बने छहरा चाहिँ गीत

प्रकृतिमै बस्यो  मेरो अनौठो यो  प्रित !!





गुनासो

7 04 2013

समय परिवर्तन हुँदै जाँदा मान्छेको व्यवहार परिवर्तन हुँदै जानु खासै नौलो हुँदैन | तर समय संगै आएको मान्छेको ब्यबहारिक परिवर्तन सबैलाई चित्त बुझ्छ भन्ने पनि त हुँदैन | हिजो आज यस्तै ब्यबहारिक परिवर्तनले घरघरमा समस्या निम्तिएको गुनासो छ | एक पटक ससुरा र बुहारीको यो गुनासोलाइ पढौं न त हुन् , सुनी सक्नु छ र भन्या !!
ससुरा बा :
आफ्नी त बुहारी कस्ती ऐना हेरी बस्छे,
नानाथरी किरिम पाउडर गाला भरि धस्छे !!
झिम्क्याउदै आँखा एक्लै त्यसै मख्ख पर्छे,
काम सघाउन आउन भन्यो उल्टै आंखा तर्छे !!
गुन्यु चोली कहाँ फाली पाइन्ट टिसर्ट लाइछ,
अग्लो जुत्ता लाउन खोज्दा खुट्टो मर्काइछ !!
मरें बाबा लौन भन्दै रुँदै नजिक आ’ थी,
नखर्माउली बुहारीलाई यस्तै भाको जाती खुचिंग !!

बुहारी नानी :
घरधन्दा कति धेरै दैलो पोत्नु पर्ने रे
सिंह जस्ती सासु तिनलाई आमा भन्नु पर्ने रे !!
गाईवस्तु घाँसदाउरा मेलापात नि जाउरे
बिरालोको नाक जस्तो चिसो ढिडो खाउरे !!
खुब चलाउन खोज्छन गाँठे उनकै हैकम
साठी काट्या चाउरे छाला बुढो भैकन !!
( २०६७ असोज )





बिलाएको मानवता

22 02 2013

फाल्गुण ८ गते दिउसो १:३० बजेको समय हो , सिकिस्त बिरामी अवस्थामा सडकमा भेटिएका ओखलढुंगा घर बताउने बालक बिनोद थापालाई लिएर विर अस्पतालको इमर्जेन्सीमा लगियो | अत्यधिक ज्वरो, खोकी सहित बान्ता समेत गरिरहेका उनको स्वास प्रस्वासको स्थिति पनि अस्वाभाविक लाग्दै थियो | हतार हतार मैले इमर्जेन्सीमा रहेकी एक जना चिकित्सकलाई बालकको अवस्था’bout जानकारी गराएँ | उनले पहिले टिकट लिनुस भनिन् | काउन्टरमा पुगेर टिकट मागें नाम बिनोद थापा, ठेगाना काठमाडौँ उमेर अन्दाजी १३ वर्ष लेखाएँ | मैले १० रुपियाँ टिकट को मूल्य भनेर दिएँ , २० रुपियाँ हो अहिले मूल्य बढेको छ भने | सडकमा भेटेको बाबु हो, अवस्था चिन्ताजनक देखेकोले बोकेर ल्याको , तपाइको जे सम्बन्ध छ मेरो पनि उही सम्बन्ध हो उ संग , मिल्छ भने निशुल्क उपचारको व्यवस्था मिलाईदिए झनै राम्रो हुन्थ्यो मैले अनुरोध गरें | उनले मैले दिएको १० रुपिया फिर्ता दिए | अर्को फ्री टिकट बनाएर तुरुन्त दिए | टिकट बोकेर इमर्जेन्सी कक्ष् को डेस्कमा गएँ | त्यहाँ रहेका अर्का चिकित्सकले एक छिन पख्नुस भने | हुन्छ भन्ने पर्यो | समय बितिरह्यो |
विनोदले पानी पानी भनेर मागी रहेको थियो  | पानि किनेर खुवाई सकेपछी पुन डाक्टर बोलाउन गएँ | अन्जुली भरि अन्गुरका दाना बोकेर स्वाद लिई रहेका एक चिकित्सकले म खाँदै छु देख्नु भएन भने | देखेको छु भनें | मैले नम्रता पुर्वक , आधा घण्टा अघि देखि मैले यस्तो अवस्थाको बालक १४ नम्बर बेडमा राखेको छु , एक पटक हेर्दिनुस न भनें | उनले टिकट काट्नुस भने | मैले टिकट उनको हातमा थमाई दिएँ | टिकटमा “पोर प्यासेन्ट फ्री” लेखिएको थियो | उनले त्यो टिकट अर्की चिकित्सक लाइ दिए , “सडक बाट उठाएर ल्याको रे “उनले यहि सब्द प्रयोग गरे | मैले फेरी उही वृतान्त दोहोर्याएर सुनाएं | उनले उमेर कति हो भनिन् मैले १२/१३ बर्ष होला भने | टिकट मा १३ बर्ष लेखिएको छंदै थियो | उनले “बच्चा हामि हेर्दैनौ” , भनिन् | मैले अवस्था राम्रो छैन , श्वास फेर्न समेत गाह्रो भएको जस्तो छ , कम्तिमा प्राथमिक उपचार केहि हुनसक्छ भने हेर्दिनुस भनें | उनले दोश्रो वाक्यमा नै हकारिन | “यहाँ हेर्दैन भनेको सुन्नु भएन, कस्तो खालको मान्छे तपाई ” | मेरो कुरा सुनिरहेका सुरक्षा गार्डले कान्ति लैजानुस , बन्द छ बरु कसरी लैजानु हुन्छ भने | मैले तिनै झर्किने चिकित्सकलाई , बीर अस्पतालमा एम्बुलेन्स छकी छैन , कान्ति सम्म लैजान्छु कहाँ गएर कसलाई भन्नु पर्छ भनेर सोधें | उनले अर्को मान्छे ( सायद त्यहींका कर्मचारी नै हुन् ) लाइ औल्याउदै उ उहाँ लाइ भन्नुस भनिन् | मैले ति पुरुषलाई आफ्नो कुरा फेरी सुनाएँ | उनले भने “अहिले स्टाफ घर पुर्याउन जान लागेको बाटो पर्दैन ३/४ बजे तिर अर्को एम्बुलेन्स फर्किन्छ, त्यसमा गए हुँदैन भने | मैले इमर्जेन्सी मा ल्याएको बिरामी कान्ति लग्नु पर्ने भो समय छैन भने | सुरक्षा गार्डले सबै दृश्य देखि रहेका थिए | उनले नजिकै आएर भने दुइटा एम्बुलेन्स जाँदै छ एउटाले कान्ति छोडिदिए नि त हुन्छ नि ” | ति अर्का कर्मचरीले जबर्जस्ति स्वीकारे झैँ गरेर ” बिरामी बोकेर बाटोमा ल्याउनु” भने |
आफ्नै पिसाबले निथ्रुक्क भिजेका विनोदलाई बोकेर अस्पताल हाता बाट बाहिरिएँ | दुइवटा एम्बुलेन्स संगै निस्कियो | ति अघिका कर्मचारी एम्बुलेन्स मा उक्लिए | ढोका बन्द गरे |अनि दुवै एम्बुलेन्स मैले बाटो क्रस गर्दा गर्दै कुद्यो | मैले बिनोदलाई फेरी उही बेडमा फर्काएँ | साच्चै मैले रिस थाम्नै सकिन | इमर्जेन्सी डेस्कमा उभिएका तिन चारजना चिकित्सक अघि गएर मैले “कम्तिमा अलिकति मानवता पनि भैदिएको भए हुन्थ्यो तपाईहरु संग” भनें | नाजवाफ उनीहरु मध्ये एक महिला चिकित्सकले तपाइको को बिरामी भनिन् , मैले तपाइको जे नाता हो मेरो पानी उही हो नाता उ संग , मैले बाटोमा भेटें , यत्तिकै मर्न दिन मन लागेन उपचार पाइन्छ भनेर ल्याको पाइएन | मैले पनि चिनेको छैन उसलाई, तपाईहरु मध्ये कसैको छोरो पनि हुन् सक्छ | म जान्दिन | मलाई यति थाहा छ , उसलाई छिटो उपचार चाहिन्छ , तपाईहरुको सहयोग मागेको हो त्यो पाइन | मैले कि उसलाई अर्को अस्पताल पुर्याउनु पर्छ कि जहाँ बाट ल्याए त्यहि लगेर छोड्नु पर्छ |” मैले अलि ठुलै स्वरमा हल्ला गरे पछी ’round मान्छे झुम्मिए |
एक त नेपाल बन्द अर्को भएको एम्बुलेन्स समेत नपाउनु , तनाव पूर्ण आवेग थियो आफैंमा | केहि बेरमा एक बिरामी लिएर एउटा प्राइभेट एम्बुलेन्स आइपुग्यो | घटना विवरण सबै बताएपछि एम्बुलेन्सका चालकले एकै पटकमा हुन्छ लगिदिन्छु, बस्नुस भने | म संगै रहेका मित्र सुरेन्द्रले विनोदलाई बोकेर एम्बुलेन्समा राखे | विनोदलाई कान्ति लगियो | अहिले विनोदको मेडिकल वार्ड बेड नं. ३५५ मा उपचारको क्रम जारि नै छ | उसको स्वस्थ्य स्थिति सुधारात्मक रहेको चिकित्सकले बताएका छन् | अरु केहिदिन अस्पतालमा नै राख्नु पर्ने अवस्था रहेको बताइएको छ |
यसबीचमा सहयोग पुर्याउनु हुने कान्तिबाल अस्पतालका सबै सहयोगी कर्मचारी, चिकित्सक र स्थानीय प्रहरी प्रभागका माधव सापकोटा जीलाइ हार्दिक आभार ब्यक्त गर्न चाहन्छु |





म रुंदा संगै रुन्छ मात्र ऐना

11 12 2012

म रुंदा संगै रुन्छ मात्र ऐना

मुहारमा मेरो अब हासो छैन !!

 

कसुर खै कहाँ छ  अपराध भो किन

कति छन् सजाय देउ अब  दिन

सहन्छु सब चोट अझ थप्छौ हैन

मुहारमा मेरो अब हासो छैन !!

 

न हो कथा यो न त राम कहानी

किन चुक धस्यौ घाउ हो  यो जानी

दोष हो तिम्रो बदला म लिन्न

मुहारमा मेरो अब हासो छैन !!

 

भगवान हुँ भन्छौ सबका देवता

छाडे छौ धर्म आफैले तिमि त

तिमि हास मजैले लेनदेन रहेन

म रुंदा संगै रुन्छ मात्र ऐना

मुहारमा मेरो अब हासो छैन !!

 

– ईश्वर देवकोटा (२०६९-मङ्सिर २६ )

 

 

 





भुइँ जुरेलीका बचेरा

29 11 2012

सानै छँदाको कुरा हो , भुइँ जुरेलीले खेत को कान्लोमा गुड बनाएको रहेछ  | असाध्यै सिप लगाएर बनाएको जस्तो देखिने बाटुलो त्यो गुडमा बचेरा त थिएनन् तर बेला बेलामा जुरेलीको आउने जाने देखेकोले पक्कै यसले घरजम बसाउदै छ भन्ने लाग्यो | गुड माथि सानो खनायो को बुटो हुर्कदै थियो , त्यसैले टाढै बाट त्यो गुड कहाँ नेर छ भनेर ठम्याउन गाह्रो थिएँन | कान्लोमा घाँस सप्रियेकोले हत्तपत कसैले त्यो गुड देख्ला भन्ने थिएन | त्यसैले म चाही ढुक्क थिएँ एक दिन त्यो भुई जुरेलिको बचेरो हात पारेर घरमा लगेर पाल्छु | यो कुरा घरमा बहिनि संग पनी सुनाएँ  |

एकदिन दुइ दिन बिराएर त्यो गुड हेर्न घरबाट हामी दाजुबहिनि पालै पालो जाने गर्थ्यौ | हेर्दा हेर्दै गुडमा जुरेलीले ४ वटा साना साना फुल पारी | हामी नजिक पुग्दा उ भुर्र्र उडेर अलि पर खेतको आलिमा बसेर गुड तिर फर्किएर आफ्नै शैलीमा हामीलाई रिश गर्थी | हामी अलक्क टाढै बाट फूलको हालचाल  बुझेर फर्किने गर्थ्यौ | दिन बित्दै जाँदा जुरेलीले बचेरा निकाली | सुरुका दिनमा भुत्ला नउम्रिएको बचेरा देखेर बच्दैन भन्ने लागेको थियो | भदौ को महिना बेला बेलामा परिरहने आकाशे पानीले कुनै दिन त गुड हिल्लामे भएको हुन्थ्यो | हुर्कदै गरेका बचेराका भुत्त्ला र प्वाँख उम्रिन थाले | हामी अझै ठुलो बनाएर घर लैजाने योजनामा थियौ | हुँदा हुँदा बचेरा हरु हामीले दिएको फट्यांग्रो खान सक्ने भएका थिए | भदौको अन्तिम साता तिर हुनुपर्छ तिज नजिकै दै थियो | यता जुरेलीका बचेर हुर्की सकेका थिए उता तिजको जात्रा हेर्न पनि जानु पर्ने | जात्राको दिनमा बचेरा सम्झिदै सम्झिदै जात्रा हेरर साझमा घर फर्कीयौ | त्यसपछि लुगै नफेरी खेत तिर बचेरा लिन हामफाल्दै कुद्यौ | साझ परि सकेकाले गुडमा बचेराहरु निदाई रहेका जस्ता देखिन्थे | निदाएका बचेरा लाइ उठाउनु हुदैन भनेर हामि त्यो दिन पनि फर्केर आयौं | भोलि  त नल्याई हुदैन भनेर राति सुत्ने बेला सम्म पानी त्यहि जुरेलीका बचेराको कुरा गरेर बसेका थियौ | गोरुलाई लगाइदिने पुरानो मोहोलामा राखेर पाल्ने तयारी पुरा भएको थियो |

बिहान झिसमिसे देखिनै खेतमा जान आतुर हुदा हुदै आमाले चिया नखाई शीतमा हिड्छन भनेर गालि गर्नु भयो | चिया पिए पछि हतारिंदै खेत तिर लाग्यौ | खेत जाने बाटोमा एउटा खहरे खोल्सो छ | कस्तो संयोग, हामी खोल्शो नजिकै पुग्दा हाम्रा अघिल्तिर बाट एउटा शीतले भिजेको  स्याल अघि लागेर खेत तिरै गयो | बालापन को मुटु डरले काम्न थाल्यो |  तैपनि अघि अघि ढुङ्गो बत्ताउँदै बिस्तार विस्तार ओरालो लाग्यौं | भदौमा हुर्किएको धानका गांज बाट अघिको स्याल फुत्त निस्किएर झम्टिन्छ कि झैँ लागि रह्यो | हामी जुरेलीको गुड नजिकै पुगेर बचेरा समाउने तयारीमा थियौ | भाग्न सक्ने भएकोले बहिनीले आफुले ओढेको आमाको पछयौरा मलाई दिइन् | म बिस्तारै गुड नजिकै गएँ |गुँडमा  बचेरा ढाकेर जुरेली पनि बसेकी थिई | हामीलाई जुरेलीको बचेरा मात्र लानु थियो | त्यसैले सानो लट्ठीले जुरेली धपाउने विचार गरें | पातिको सिन्कोको लट्ठी बनाएर बिस्तारै गुडमा पुग्ने गरि झटारो छोडें | पहिले भुर्र जुरेली उडी ..त्यसपछि बाकी भएका सबै बचेरा पनि | जुरेली पर को काप्रो को रुखमा गएर बसी | बचेर हरु चारतिर उडे | हामि हेरेको हेरै भयौं | निन्याउरो मुख लिएर हामी भुइँ जुरेलीको बाटुलो गुँड मात्र बोकेर घर फर्की आयौं | त्यसैले भनिन्छ होला “समयमा नै बुद्धि पुर्याएर काम सक्नुपर्छ ”  | तर अवोध  बचेरा गुडबाट झिकेर ल्याउनु आफैमा नराम्रो हो भन्ने हामीलाई थाहा थिएन |

– ईश्वर देबकोटा





कवि कलम

13 11 2012

यी कलम नाच्छन

कापीका पानामा,

जोडेर अक्षर

कविका तानामा !!

लेकका गुराँस

चेलीका गुनासा ,

बिशाल पहाड

तिलका दानामा

यी कलम नाच्छन

कापीका पानामा,

जोडेर अक्षर

कविका तानामा !!

बहन्छ कहिले

आँशुका  धारामा,

उडेर पुग्छ

ब्रह्माण्ड सारामा

यी कलम नाच्छन

कापीका पानामा,

जोडेर अक्षर

कविका तानामा !!

अजंग जीव

पन्छिका नाचमा

खहरे खोलो

सुनौला फाँटमा

यी कलम नाच्छन

कापीका पानामा

जोडेर अक्षर

कविका तानामा !!

शब्द जिलाइ

लय मिलाई ,

पोखेर अनेक

प्रेमका भावना

यी कलम नाच्छन

कापीका पानामा,

जोडेर अक्षर

कविका तानामा !!

– ईश्वर देबकोटा





डाडा पारि बन

26 10 2012

परालले तुनेको चकटी , जान्छौ की त टुसुक्क नबसी
डाडा पारि बन , खै केले कुडियो सानु तिम्रो मन !!

फूलफुलेछ के होला धयेरी , हिजो आज हिड्छौ नि नहेरी
डाडा पारि बन , खै केले कुडियो सानु तिम्रो मन !!

काफल गेडी चपाउदै कुटुक्क, कुरा काट्दै कता हो सुटुक्क
डाडा पारि बन , खै केले कुडियो आज तिम्रो मन !!

बेशी झर्यो भेडाको बथान , नाता हाम्रो चानचुने नठान

डाडा पारि बन , खै केले कुडियो आज तिम्रो मन !!

रातै राम्रो पूर्णे को जुनले , मान्छे राम्रो रुप र गुणले
डाडा पारि बन , खै केले कुडियो आज तिम्रो मन !!

-ईश्वर देवकोटा





बजाउ मादलु

26 10 2012

घर सम्झी फर्कियो लाहुरे

बिर्सियो की  झैँ भाछ यो गाउँले

बजाउ मादलु,

छम छमी नाच्ने हो अब मायालु !!

 

बन भरि धुपि र सल्ला

लाहुरे आको गर्दिनु लौ हल्ला

बजाउ मादलु,

छम छमी नाच्ने हो अब मायालु !!

 

आयो तिहार बर्ष दिन घुमेर

लाएँ माला मखमली उनेर

बजाउ मादलु,

छम छमी नाच्ने हो अब मायालु !!

 

डोरी बाटी फूल उन्दा तोरण

तिहार आयो काम धन्दा छोडन

बजाउ मादलु,

छम छमी नाच्ने हो अब मायालु !!

 

देउसी गाउदै नाचेर भैलिनी

यस्तो मौका आउदैंन जहिले नि

बजाउ मादलु,

छम छमी नाच्ने हो अब मायालु !!

–    ईश्वर देवकोटा





विजयको सम्झनाको सन्देश बोकेर राका गाउँ पुग्दा

29 09 2012

 लोकबहादुर दाई , अर्को पाहुना आएपुग्यो | सायद तपाइलाई अस्ति कै झल्को लाग्दै छ भने दाई, म संग अरु कोहि आएका छैनन्  आज | म एक्लै आएको छु , मैले अरु कुनै साथि  पनि खोजिन | न अरु कसैले म पनि तिमि संगै राका गाउँ जान्छु नै भने ! आज तपाइको गाउँमा न हेलिकप्टर उत्रेको छ , न रु कुनै दलबल सहितका सरकारी सुकिला मान्छे नै | हजुरको घरमा बास माग्न  आइपुगेको  शहरिया पाहुना, जसलाई थपी थपी जुम्लाको मार्सी भात संग खुवाउनु भएको सिमिको झोल अनि बारीको हरियो खुर्सानीले राजधानीको भोक मेटाई दिनु भएको थियो रे  ,हो  उसैले एउटा संदेश सुनाइदिनु  है भनेर आग्रह गरेको थियो  | जसरी हजुरको राका  छोएर अविरल बग्ने कर्णालीले तपाइको बस्तीको आशु बगाएर सहर सम्म ल्याउन चाहेन त्यसै गरि यो शहरको आधुनिक सपना राजधानीबाट धर्ति थर्किने गरि उडेर गएको हेल्कोप्टरले नै यहाँ सम्म उतार्न  सक्यो | हो म त्यही राजधानी भनिएको शहरको भिडबाट तपाइले केहि दिन अघिमात्रै जीवनका कथा साट्नु भएको विजयकुमार दाईको संदेश छोड्न राका गाउँ आइपुगेको छु |  मात्र म संग विजयले पठाएको मनभरीको सम्झना मात्रै छ | यस अघि खलंगा बजारतिर झर्नु भ्याउनु भएको भए सायद कसैले यो संदेश पहिले पनि सुनाइ सक्यो होला | यदि छैन भने यो संदेश बोकी आउने सायद म नै पहिलो हुनेछु |

थाहा छ दाई, उता राजधानीमा अझै पनि यो राका गाउँ आएर फर्केका प्रधानमन्त्रीको अनेक कुरा काट्नेहरु घटेका छैनन् | कतिले त राका गाउँमा प्रधान मन्त्रीको हेलिकप्टरको हावाले घरको छानो उडायो समेत भनेका छन् | राजधानीको महंगीमा घरको घ्याम्पो जोगाएर र जुम्लीको गाँस खोस्न गए  पनि भने | तर प्रेमले ख्वाएको, मायाले खाएको सिमिको तरकारीको पातलो झोल र मार्सी धानको चामलको भात विजयले भुलेका छैनन | हुन त उनले पनि पाँचतारे होटेलको खानाको स्वाद लिएकै हुन | तैपनि हजुरको चुल्होमा पाकेको त्यो रातको खाना अझै सम्झिन्छन , जति बेला उनि मनमा सम्पूर्ण शान्ति मिलेको आभाष गरि रहेका थिए रे | तपाई र मानसिंह दाईलाई टेलिभिजनमा समेत देखाएका थिए | त्यो टेलिभिजनको दृश्य तपाईले  नै हेर्न नपाउनु भएकोमा उनि दुखित छन |

दाई कर्णालीमा जति पानी बगे पनि राका गाउको अभावका  पिडा अझै बगेको छैन रहेछ | कर्णालीले यो जुम्लाको कथा यहि कतै किनारा लगाएर राखेको हुनुपर्छ | अग्ला पहाडका चुचुरा, हिउँले ढाकिएका सेताम्मे हिमाल , कल कल बग्ने खोलानाला , झरना, चौरी चर्ने पाटन क्षेत्र साच्चै स्वर्ग तुल्य कर्णाली , हो यस्तै बर्णन ले भरिदै आएको छ किताबका पाना, कविका कविता  अनि अनेकौं लेख रचना उता शहरमा | हिसाब किताब गर्दै छन कोहि कर्णालीमा निरन्तर बगेका पानीका थोपाहरु | उनीहरु त्यहि थोपामा नेपालको झिलिमिली सपना बुनी रहेका छन | दाई तपाइले चाहिँ के कहिल्यै कर्णालीका किनारमा  रहेर यस्तो सपना देख्नु भएन र ? सायद मैले बेकारको प्रश्न गरें | जसको कुनै तुक छैन झैँ लाग्दो हो तपाइंलाई | किनकि मलाई विजय दाइले भनिसक्नु भएको छ , तपाईलाई ठुलो कुरा गर्न चाहना छैन | कर्णालीलाई तपाई सानै देखि देखि रहनु भएकै छ | कर्णालीको भन्दा पिर तपाईलाई आफ्ना दुई सन्तान माथि छ | उनीहरुलाई नै यो कर्णालीको कथा पढाउने मन छ | तपाइले भने झैँ यी छोरा छोरीहरुले  आफै बुझ्ने छन् ,  कर्णाली किनारमा नै बसेर पनि उनहिरु स्कुल पढ्ने उमेरमा बिजुली बालेर पढ्न पाएनन भनेर !

विजय दाइले सानैमा पढेको कर्णालीको कथा अझै पनि कथै सिमित  छ भनी रहंदा , तपाइले निकै आशालाग्दो जवाफ दिनु भएछ | बितेका बर्षमा फेरिएको  राज्य व्यवस्था र बढ्दो भनिएको विकास क्रमले भन्दा पनि कर्णालीवासी स्वयंको जागरुकतामा भविष्य जगमगाउन सक्नेमा अर्को मत नरहेको छर्लंग जवाफ छ भनेका छन विजयकुमारले |

थाहा छ लोकबहादुर दाई,  यहाँबाट फर्किए लगत्तै बाबुरामको नाटकका पात्र बनेर आए जस्तो लागेन ? भनेर प्रश्न तेर्स्याउनेहरुले विजयदाई आजित नभएका होइनन् | हर समय मुस्काइ रहने उनले ति प्रश्नहरुका अगाडी तपाइंको भान्छामा पाकेको मनलाई शान्ति दिने एक छाक नै किन नहोस , पाँचतारे होटेलमा बर्षौ देखि पाक्दै आएको बिदेशी व्यन्जन भन्दा निकै उच्च स्तरको को भनीदिए पछी  ति प्रश्नहरु ठेगान लागेका छन | दाई , तपाइँका ति बोलीहरु जस्ता को तस्तै विजयदाइले संसार भर बाडी रहँदा  स्वयं तपाइले न देख्न सुन्न पाउनु भएको छ, न पढ्न नै | एउटै देशका नागरिक हामी, दुवैले यहि देशको अधिकार र उपलब्ध सेवा सुबिधा उपभोग  गर्न समान रुपमा पाउनु पर्ने हो | मैले तपाइको कथा सुन्न पाउँछु तर मेरो कथा तपाइले सुन्न कहिलेसम्म पाउनुहुन्न त्यो मलाई नै  छैन | अरु धेरै विजयकुमार दाईहरु अहिले देशका कुना कुनामा पुगेर जीवन्त कथा हामीलाई सुनाउनु हुन्छ देखाउनु हुन्छ | ति कथाहरुले हामी कहिले खुशीले मख्ख परि दिन्छौं कहिले भावविह्वल ! समय र प्रविधिको बिकाश संगै म पूर्व पश्चिम उत्तर दक्षिणका सुचना र समाचर क्षणभरमा थाहा पाउन सक्छु भन्न सक्ने  हुँदा तपाइँका लागि यो एकादेशको कथा नै हुनसक्छ | आकाशका ग्रह बाट संदेश आएको पनि क्षण भरमै थाहा पाउँछ आज राजधानी तर दाई राका गाउँको संदेश पाउन हामीलाई बिजयकुमारहरु नै कुर्नु पर्छ | हरबखत ति बिजयकुमारहरुलाई पनि कहाँ फुर्सद हुँदो हो र आउनलाई यो कर्णालीको कथा सुन्न | उनीहरुको नि आफ्नै जीवन धान्ने पेशा छ | दुनियाँका कथा बटुलेर सुनाउनु छ | कहिले काहिँ यसै गरि कथाहरुले पिरोलिन्छ उनीहरुको मन | अनि सम्झिदिन्छ्न |

लोकबहादुर दाई ,  म विजय दाइको सम्झनाको संदेश सुनाउन मात्रै आएको थिएँ | सायद मैले उहाको त्यो सन्देश सबै सुनाउन सकिन कि, माफी माग्छु | मैले अहिले भने बिदा माग्नु पर्ने बेला भएको छ | मानसिंह दाइलाई पनि संदेश छोड्नु छ | मार्सी र सिमिको झोल संग तर्किएर भाग्न खोज्यो यो ! भनेर नसोच्नु होला | तपाई संगै हार लागेर गास बाड्न मलाइ कुनै रुढिबादी सस्कारले रोक्न सक्दैन | तिर्खाएको म जुनसुकै बेला तपाईंको हातले दिएको पानी कलकल पिउन सक्छु |एउटै छाना मुनि मन भरिका कुरा गरेर रात काट्न सक्छु | जीवनका अनेक घुम्तीमा भोगेका कथा संगै यो पिढीमा बसेर  बाढ्न सक्छु |  यहि पिढिको डील बाटै  हामि  सुसेल्दै एकोहोरो बगेको कर्णालीलाई संगै आग्रह गर्न सक्छौं, ” तँ  उँधो बगेर जाँदा कर्णाली  हाम्रो खबर पनि त लगिदे ?” उता विजय राका गाउँका लोकबहादुर कठायत सम्म  मेरो सम्झनाको सन्देश पुग्यो कि पुगेन भनि छट्पटि रहेको छ  |

 यी माथिका हरफहरु आज कान्तिपुर दैनिकको तेस्रो पृष्ठमा छापिएको आदि इत्यादी स्तम्भको विजयकुमारद्वरा  लिखित “कसैले यो पढे, राका गाउँका लोकबहादुर कठायतलाई सुनाइदिनु !”  शीर्षकको  लेखमा आधारित छ | जुम्लाको  राका गाउँ पुगेर लोकबहादुर संग विजयकुमारको सम्झनाको  सन्देश छोड्न जाँदाको  मेरो काल्पनिक अनुभव मात्रै हो | यथार्थमा म जुम्लाको राका पुगेको चाहिँ होइन है |

 

 

 





जसको राजधानी उसकै उपेक्षा

25 09 2012

     कुलेश्वर कालिमाटी टेकु, त्रिपुरेश्वर, सुन्धारा रत्नपार्क,……… आज पनि उसको दैनिकी यसरी नै चिच्याउदै चल्दै छ | धुवाँ धुलो र भिडभाड उसका लागि अब सामान्य भै सकेको छ | सडकका पैदल यात्रु नै उसको परिवार बनेको छ | उ सम्बोधन गर्छ  अंकल, आन्टी, दाइ, दिदि जाने हो ल आउनुस  बस्नुस | यो नाता केबल क्षण भरको हो | उसको दैनिक जीवनयापन संग जोडिएको छ यो नाता | कसैका अगाडी उ निकै नम्र भइ दिन्छ त कसैका अगाडी उसैको ब्यबहार प्रति अरु आक्रोशित बन्न पुग्छन | माइक्रोबसको ढोका हरेक बिसौनीमा खोल्नु र बन्द गर्नु मात्र रहेन उसको जिम्मेवारी | कसैको गह्रौ झोला, कसैको  बुढेसकाले उमेर कसैका कलिला लालाबाला सबैलाई स्वविवेकले हात दिन समेत पछी हट्दैन ऊ | निधारबाट खलखली बगेको पसिनाको परवाह छैन उसलाई | ग्रिज र मोबिलका काला दाग नै उसका शृंगार बनेका हुन्छन | कमिजको बाहुलाले धसिदिन्छ निशंकोच | ऊ आग्रह गर्छ सबैलाई , सिटमा मिलेर बस्नुस | अलिकति पछाडी सर्नुस | अरु पनि त चढ्नु पर्यो नि | खै भाडा | कति जना ? कहाँ सम्म ?  जाउँ जाउँ  …फेरी उही स्वर दोहोरिन्छ  उही लयमा कालिमाटी, टेकु  त्रिपुरेश्वर .. | तस्विर:  नेपाली हालखबर 

       ऊ चालक होइन, तर भनेको  ठाउमा बस रोकिएन भने यात्रुको गाली उसैले खान्छ | बाहिर उभिएको यात्रु बस भित्र चढेन भने पनि चालकको गाली उसैले खाने गर्छ | हतारमा बस भित्र छिरेका यात्रुहरुलाई मिलाएर राख्नु अनि उत्रने यात्रु  संग भाडाको  कारोबार मिलाउनु सहज जिम्मेवारी पनि होइन | दश पन्ध्र रुपैयाँको भाडा दरमा पाँच सय र हजारका जतिपनि सग्ला नोटहरु हात पर्छन  टुक्रयाएर बुझाउनु पर्ने बाध्यता आइपर्छ उसैलाई | एक रुपैयाँ कम गरेर दिन पाए ठुलै रकम जोगिएझैँ मख्ख पर्छन दिने हरु | निधार खुम्च्याउदै आफै घोप्टो परेर भुत्भुताउछ ऊ | क्याम्पस कलेज पढेकाहरू पहिचान को परिचयपत्र तेर्स्याउँदै छुट को दावी गरिरहेका हुन्छन | उनीहरुका अधिकारका कुरा उसले मिलेसम्म नाइँ भन्दैन | केरिएका मेटिएका  अनि थपिएका भ्यालिडिटि डेटहरुले उसका निराक्षेर ठानिएका सचेतन दिमागलाई बेला बेलामा झस्काउछ | अनि एकपटक झर्किन्छ , पाँच रुपैयाँ पुगेन थप्नुस | झ्याल बाहिर फुत्त टाउको निकालेर पांग्राको अवस्थिति पनि जाँच्नु छ | कहिले त्यहि झ्यालबाट हात तेर्स्याएर सवारीको साइड लाईटको काम ऊ आफै गर्छ | ट्राफिक प्रहरीका आँखा उसै माथि पर्छन | नियम उलंघनको सजाय स्वरूप चालकले जरीवाना तिर्नु पर्ने अवस्था पनि उसले धेरै पटक अनुभव नगरेको होइन ; त्यसैले चनाखो हुनु पनि अर्को दायित्व हो उसैको | उसको व्यक्तिगत जीवन र पहिचान दिनभरको यस्तै भुमरीमा मडारिएको हुन्छ | तैपनि ऊ निशंकोच कराई रहन्छ त्रिपुरेश्वर , सुन्धारा, रत्नपार्क…. |

       साँघुरा सडक, अब्यबस्थित सवरी साधन, यात्रुको अत्यधिक चाप, अघोषित सवारी जाम  अनि गन्जागोल राजधानी काठमाडौँमा रुमलिएको उसको दैनिकी रहरले  होइन बाध्यताले बिताउनुपरेको छ भनेर सोची दिने कसले ? हाकिम सहेबहरु  अफिस सम्हाल्न समयमा पुग्नु छ | मिसको विद्यालयमा १० बजेको  घन्टी बज्यो | डाक्टर साहेबको अस्पातलको आपतकालीन सेवा हेर्नुछ | समयमा पुगीएन भने रिडएबल मेसिनले हाजिर गरिदिदैन | यो सब समस्याको एक मात्र दोषी आफु भए झैँ सम्झन्छ ऊ |  टाउका गनेर मुठिभरी जम्मा गरेको नोटका बिटा नियमित बुझाउनु पर्छ | गोजीमा हलिस की ? शंकाको शब्दबाण सहजै पचाई दिन्छ ऊ |  शरीर ढाकेको कमिज पाइन्ट उसको शरीरका लागि आकार सुहाउँदो पनि छैन | तैपनि ऊ यसलाई बजारको नयाँ फेसन संग तुलना गर्दै गफिन्छ | निरन्तर कराउँदा गला सुकेको पनि त्यति थाहा हुदैन | चालकले अगाडीबाट नानाथरी गाना बजाना सुरु गर्दिन्छन , ऊ त्यही गीतमा गुनगुनाई दिन्छ | आफु सरहको साथि भेट्दा हात हल्लाउन पनि भ्याउँछ ऊ | बेला बेलामा मुस्काउदै फेरी उही स्वरमा भन्छ सुन्धारा , रत्नपार्क… |

       यो देशको कानुनले नै उसलाई बालबालिकाको तहमा समेटिदिएको छ |आफ्नै उमेरका भाई बहिनीहरु उसैलाई खिसी गर्दै कहिले कहिँ उक्लने ओर्लने गर्छन | तिनका सुकिला बिद्यालय पोशाक र किताबै किताबले भरिएका झोलाहरुले पनि उसैलाई जिस्क्याउँदै हिडे जस्तो लाग्दो हो उसलाई | बेलाबेलामा अधिकारका नारा लगाउनेहरुले नै उसको दैनिक खाइपाई आएको  रोजीरोटि खोसी दिन्छन | सडकका भित्ताहरु, जहाँ  पोतिएका मुलुक परिवर्तनका दलीय नाराहरु उसका पाठ्यपुस्तकका पाना  भएका छन | कुनै गुरु बिना नै ऊ देशको घटना क्रम संग जानकार रहन्छ | उसका दिमागमा  कुनै ठुलो सपनाको महल पनि बनिसकेको छैन सायद | काम गरेको दिनको कमाइले उसको दुई छाक खुशीमा नै  टरेको हुन्छ तर भोलिका लागि सोचेर फाइदा देख्दैन ऊ | घरपरिवार नभएको पनि होइन , उमेरमा बिद्यालय नगएको पनि होइन , अनायाश शहर छिर्नुको वास्तविकता कसैलाई बाड्न चाहादैन ऊ | किनकि यो शहरमा उसको पहिचान बेग्लै छ भन्ने उसलाई पूरा  ज्ञान छ | अझै पनि ऊ यो राजधानीमा ऊ  उपेक्षाको पात्र हो  ” खलासी” | र त सधै जस्तै आज पनि उसैगरी कराउन बाध्य छ…  ल आइपुग्यो “रत्नपार्क” सबै जना झर्नुस …. त्रिपुरेश्वर , टेकु कालिमाटी कुलेश्वर … |

– ईश्वर देबकोटा ,पन्द्रुंग -१, जराङ, गोरखा 

मिति: २०६९-आश्विन ९